पशुपति धर्मशालामा सञ्चालित आनन्द हाेटलसँगकाे सम्झाैता रद्द


काठमाडौं, चैत्र २१। पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल आनन्द प्रालीसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्दले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना निकालेर जनाएको छ ।

तिलगङ्गामा रहेको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेपछि कोषले सार्वजनिक सूचना निकालेर सम्झौता रद्द गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । तर,बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको हो ।

परिषद्ले होटल आनन्द प्रालिका सञ्चालक आनन्द बतास र प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालिएको छ । पशुपति क्षेत्र विकास कोष र होटल आनन्द प्रा.लि. का बीचमा नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्ने बारेमा सम्झौता भएकोमा भाडामा लिने पक्ष आनन्द होटल प्रा.लि.ले सम्झौतामा लेखिएको विभिन्न सर्तहरू पालना नगरेको सूचनामा उल्लेख छ ।