पाल्पा–स्याङजा जोड्ने पुल भत्किँदा आठ जना घाइते


पाल्पा–स्याङ्जा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते भएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका–८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर रामपुर पाल्पा जोडिने पक्की पुल आइतबार साँझ भत्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार निर्माणको क्रममा क्रेनले फलामको बिम जोड्ने काम भइरहँदा भत्किएको हो। अचानक बिमसहित कामदारहरू खस्दा आठ जना घाइते भएका हुन्।

घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बारा हरिहरपुर(८ बस्ने २८ वर्षीय जितेन्द्र पटेल, भारत विहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाका २३ वर्षीय सृजन परियार छन्।

घाइतेमध्ये राम निवास कुमार पटेल र धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले सेतोपाटीलाई जानकारी दिए। सडक डिभिजन कार्यालय पाल्पामार्फत् पुल निर्माणको जिम्मा इलाइट एसपी कम्पनीले पाएको थियो।

कम्पनीका प्रतिनिधि श्याम केसीका अनुसार करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको थियो। ‘यसको डिजाइन स्वीकृत हुन हामीलाई ६ वर्ष लाग्यो। हिजो बिम हाल्ने काम भइरहेको थियो,’ उनले भने, ‘क्रेन अपरेटरले लोड अलि धेरै उठाएका थिए। त्यही क्रममा सबै खस्यो।’

उनका अनुसार साइटमा ठूलो क्षति नभए पनि मानवीय क्षति भएको हो। कामदारहरू ९ मिटर माथिबाट खसेका थिए। घाइतेको उपचारको सबै जिम्मा कम्पनीले नै लिने उनले बताए।

करिब २१ करोड लागतमा निर्माण भइरहेको काम केही समयपछि फेरि सुरू हुने उनले बताए। ‘सुरूमा १५ करोड ६८ लाखको बजेट थियो। पछि बढाएर २१ करोड हुन आएको हो,’ उनले भने, ‘पोहोरबाट काम सुरू भएको थियो। ४५ प्रतिशत सकियो। हिजो नभत्किएको भए ५०(५५ प्रतिशत सकिन्थ्यो।’