पर्वतका गुरुङले नेपाल तरुण दलको अध्यक्ष सम्हाले


नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङले आजबाट औपचारिक रुपमा पदको जिम्मेवारी सम्हालेका छन् । उनलाई तरुण दलको कार्यालयमा यसअघिका अध्यक्ष जितजंग बस्नेतले पद हस्तान्तरण गरेका थिए ।

पद हस्तान्तरण कार्यक्रममा गुरुङले स्थानीय तहको निर्वाचन नजिकिइसकेकाले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन निर्वाचन केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा भएका राम्रा कामको प्रचार गर्ने र जनतामा फैलाइएका अनावश्यक भ्रमहरुलाई चिर्दै निर्वाचनमा होमिने भन्दै उनले पार्टी केन्द्रको नीति र निर्देशनअनुसार युवाहरु परिचालन गर्दै आधिकारिक उम्मेदवारलाई विजयी बनाउने तत्कालीन योजना रहेको सुनाए ।

तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतले गुरुङको कार्यकालमा उदाहरणीय तरुण दल बनोस् भनेर शुभकामना दिए । उनले गुरुङको कार्यकाल सफल बनाउन पनि भूमिका खेल्ने बताए । भने, ‘तपाईंले देखाएको बाटोमा हिंड्न हामी तयार छौं र तपाईंका बाधा अड्चन जे–जे आउँछन् हामी त्यसलाई पन्छाउँदै कार्यकाल सफल बनाउँछौं ।’

निवर्तमान अध्यक्ष बस्नेतले तरुण दललाई बलियो बनाउन गुरुङ लगायतका तरुण दलका अन्य नेता–कार्यकर्ताहरुसँग सहकार्य गरेको स्मरण गर्दै आफू त्यसप्रति सधैं ऋणी रहेको बताए ।

पर्वत घर भएका विद्वान गुरुङ तरुण दलको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय नेतृत्वमा पुगेका हुन् । उनी बालकृष्ण खाँण अध्यक्ष हुँदा पर्वतको जिल्ला अध्यक्ष थिए । यसैगरी महेन्द्र यादव तरुण दलको अध्यक्ष हुँदा गुरुङ केन्द्रीय सदस्य बनेका थिए ।

यसैगरी जितजंग बस्नेत अध्यक्ष हुँदा गुरुङ कोषाध्यक्ष थिए । उनी नेपाली कांग्रेसको १२ औं, १३ औं र १४ औं महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि बनेका थिए ।

गुरुङलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही चैत ९ गते तरुण दलको अध्यक्षमा मनोनित गरेका थिए । तरुण दलका पदाधिकारी र केन्द्रीय सदस्य चयन हुन भने बाँकी छ । अब स्थानीय तहको निर्वाचनपछि तरुण दललाई पूर्णता दिने गुरुङले बताए । गुरुङ सानै देखि पर्वतको कुश्मालाई राजनीतिक थलो बनाई काम गरेका हुन ।