चोभार सुख्खा बन्दरगाह सुरु, आयात निर्यातलाई थप सहज बनाउँने प्रधानमन्त्रीको भनाई


प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारबाट सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने बताएका छन् । ‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ बन्दरगाहको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले भने, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ ।’

चोभार सुख्खा बन्दरगाहको विशेष महत्त्व रहेको उनले जनाए । बन्दरगाहले व्यापारलाई सहजीकरण गर्नुकासाथै पारदर्शी पनि बनाउने उनले बताए । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो ।

विश्व बैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका थिए । वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

चोभार बन्दरगाह सीमावर्ति क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरिन्टिन, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।