सिलिण्डरको मुल्य २५ सयभन्दा बढि, पेट्रोल र डिजेल प्रतिलिटर २ सय नजिक


इन्धनमा परल मूल्य लागू हुने भएको छ । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेर परल मूल्यमा इन्धनको बिक्रि गर्ने तयारी थालेको हो । महँगोमा खरिद गरेर सस्तोमा बिक्रि गर्नुपर्दा निगमले ठूलो घाटा ब्यहोरिरहेको भन्दै परल मूल्यमा बिक्रि गर्न नयाँ सुत्र निगमले अघि सारेको हो ।

पेट्रोलियम पदार्थ भारतबाट खरिद गर्दा र कर तथा अन्य राजश्व तिर्दा जति पर्छ त्यतिमै बिक्रि गर्ने गृहकार्यमा निगम जुटेको हो ।परल मूल्य लागू हुँदा भारतबाट बिहिबार आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य १८२ रुपैयाँ पुग्ने छ । डिजेलको भाउ १७० रुपैयाँभन्दा केही माथि जानेछ ।

परल मूल्य अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य २५ सय २८ रुपैयाँ ६६ पैसा पुग्नेछ । अहिले पेट्रोलको भाउ १५५ रुपैयाँ, डिजेलको भाउ प्रतिलिटर १३८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ छ ।

यस विषयमा आज छलफल पनि भएको छ । अर्थमन्त्रालयमा भएको छलफलमा केही विभागीय मन्त्रीसहित राष्ट्र बैंकका अधिकारीहरु पनि उपस्थित भएको स्रोतले बताएको छ ।

छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री किसान श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव डा। गणेश पाण्डे, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी थिए ।

निगमले चरम घाटा ब्यहोर्ने अवस्था आएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । निगमले मासिक ३० अर्ब रुपैयाँ खर्च गरेर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता परेको छ ।

असोजसम्म १९ अर्ब रुपैयाँ सञ्चित मुनाफा ररुपैयाँ मूल्य स्थिरीकरण कोषमा १४ अर्ब रुपैयाँ रहेको निगम अहिले ३५ अर्ब घाटामा छ । त्यसकारण मानिसहरुले पेट्रोलियम पदार्थको प्रयोग कम गरुन् भनेर परल मूल्य लागू गर्ने विषयमा छलफललाई अघि बढाईएको स्रोतले बताएको छ । इन्धनको मुल्य बढेसंगै नेपाली बजारमा सबै सामानको मुल्य समेत निकै बढेको छ । यता सरकारले बजारको अनुगमन गर्न नसक्दा मनलाग्लो बजार भाउ छ ।