कंगोको बालीमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, एक सेनाको मृत्यु


शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेको नेपाली सेनाले जनाएको छ ।

आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । ती सैनिकको परिचय खुलाइएको छैन । संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।

नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट आक्रमण भएको थियो । आक्रमणबाट घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको भएपनि उपचार सम्भव नभएकाले मृत्यु भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघबाट जारी विज्ञप्तिमा मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरिएको छ । साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै राष्ट्र संघले यस घटनाको छानबिन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन कंगोका अधिकारीहरुलाई आग्रह गरेको छ । हरेक वर्ष नेपालबाट नेपाल प्रहरी, स–शस्त्र प्रहरी र नेपाली सेना शान्ति सेनामा जाने गरेका छन् ।

नेपाली सुरक्षाकर्मीबाट ती क्षेत्रमा गरिएको समन्वय र सुरक्षा व्यवस्थापको पक्षललाई लिएर शान्ति सेनामा कार्यरतहरुको संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले प्रशंसा गर्दै आएको थियो ।