अमेरिकाबाट पुटिनका छोरीमाथि प्रतिबन्ध


अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको परिवारका सदस्यहरुसहित थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पुटिनका दुई छोरीहरु पनि छन् ।

अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ह्वाइट हाउसले रुसका दुई ठूला बैंकहरु स्परबैंक र अल्फा बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अब यी बैंकहरुबाट अमेरिकासम्म रकम पुग्ने छैन । साथै कुनै पनि अमेरिकीले यी बैंकहरुबाट कारोबार गर्न सक्ने छैनन् ।

साथै अमेरिकाले प्रधानमन्त्री मिखाइल मिशुस्तिन, पूर्व राष्ट्रपति दिमित्री मेतभेदेव, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी श्रीमती र बच्चाहरु, रुसी सुरक्षा परिषदका सदस्यहरु र रुसी राष्ट्रपति पुटिनका दुई छोरीहरुलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

ह्वाइट हाउसबाट जारी बयानमा राष्ट्रपति पुटिनका ‘दुई बालिग सन्तान’ भनेर उल्लेख गरिएको छ । यद्यपि नाम भने उल्लेख छैन । तर मिडिया रिपोर्टका अनुसार त्यो भनेको रुसी राष्ट्रपति पुटिनको पूर्वपत्नी ल्युडमिलाबाट जन्मिएका दुई छोरीहरु मानरिया वोरोत्सोभा र क्याटरिना तिखोनोभा हुन् ।

१९८५ मा जन्मिएकी वोरोत्सोभा एक एन्डोक्राइनोलोजिस्ट र एक मेडिकल कम्पनिकी मालिक हुन् । यसैगरी १९८६ मा जन्मिएकी तिखोनोभा शिक्षा र व्यापारमा संलग्न छिन् । उनी प्रतिभाशाली डान्सर पनि हुन् । उनले अन्तर्राष्ट्रिय रक एण्ड रोल प्रतियोगितामा भाग लिने गर्दछिन् ।

यस प्रतिबन्धपछि पुटिन परिवारका सदस्यहरुको अमेरिकामा रहेका सम्पत्ति जफत हुने छ । साथै अमेरिकाबाट कुनै पनि प्रकारको कारोबार गर्न रोक लाग्ने छ ।

ह्वाइट हाउसका अनुसार अमेरिकी वित्त विभागले रुसका अन्य कम्पनीहरुलाई पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भनेका छन्, ‘रुसले युक्रेनको बुचामा गरेको अत्याचारको मूल्य चुकाउनुपर्छ ।