अझै एक महिना सवारी लाइसेन्सको आवेदन नखुल्ने!


काठमाडौं, चैत्र २७। नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन फारम अझै एक महिना नखुल्ने भएको छ। फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम खोल्ने तयारी गरिएको हो। यातायात व्यवस्था विभागका अनुसार अब जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने तयारी छ। त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना छ।

परीक्षामा उत्तिर्ण भइसकेकाहरूकै लाइसेन्स दिन विभागले ढिलाइ गरिरहेको छ। नयाँ लाइसेन्सका लागि करिब ६ लाखले आवेदन दिएका थिए। यो संख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्नेछ। पुराना आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागको भनाइ छ। विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार गत चैत १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको थियो।