अर्थतन्त्रको समस्या समयमै समाधान नगरे खराब स्थिति आउन सक्ने अध्यक्ष गोल्छाको चेतावनी


काठमाडौं, चैत्र २८। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । महासंघको ५६ औं वार्षिक उत्सवमा बोल्दै अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका हुन् । ‘समयमै यसलाई समाधान गर्नुपर्छ । सचेत नबने हाम्रो स्थिति खराब बन्नसक्छ,’ उनले भने, ‘नेपालको नेपाल अर्थतन्त्र श्रीलंकाजस्तो नबन्ने तर खराब अवस्थामा पुग्न सक्छ ।’

उनले देशको अर्थतन्त्र संकटमा भएको समाचार सञ्चारमाध्यममा आएपनि आफूहरुसँग सरकारी पक्षले छलफल नगरेको गुनासो गरे । ‘हामी पनि यही मुलुकका नागरिक हौं । अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत लगानी छ,’ उनले भने, ‘हामी पनि संकट हुन नदिन योगदान दिन चाहन्छौं ।’

चालू आर्थिक वर्षको सात महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्रमा चिन्ता नथपे पनि पछिल्लो ८ र ९ महिनाको तथ्याङ्कले चिन्ता बढाइदिएको उनको भनाइ छ । ‘नेपाल श्रीलंका जस्तै हुन लागेकाले यस्ता कदम आइरहेका हुन कि भन्ने बुझाइ विकास भएको छ,’ उनले थपे, ‘तर अहिलेदेखि नै चनाखो नभए खराब स्थितिमा अवस्य पुग्छौं ।’ नेपालमा समेत पछिल्ला समयमा अर्थतन्त्रमा थप जटिलता आएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।