मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने : काठमाण्डौमा आउन अझै दुई हप्ता लाग्ने


काठमाडौं, चैत्र २९। सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि सुरुङमा पठाइने भएको छ । आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोलेर सुरुङमा पानी पठाउन लागिएको हो । आज सिन्धुपाल्चोकको अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान १० बजे पानी सुरुङमा पथान्तरण गरी उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।

सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले आजदेखि पानी पथान्तरण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । केही काम अझै बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको समितिका सिनियर डिभिजन इञ्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिनुभयो । गएको असार १ र साउन १७ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।

सरकारले यसअघि चैत मसान्तभित्र पानी काठमाण्डौमा ल्याउने घोषणा गरेको थियो । इञ्जिनियर कुँवरका अनुसार काठमाण्डौमा पानी आउन अझै दुई हप्ता लाग्नेछ । यसअघि सुन्दरीजलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री देउवाको कार्यक्रम स्थगित भएको हो ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५१ सालमा मेलम्ची काठमाण्डौमा ल्याउने परिकल्पनासहित घोषणा गर्नुभएको थियो । एक वर्षअघि २०७७ साल चैत १५ गतेदेखि परीक्षणका रूपमा काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । लगत्तै २० गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची आयोजनाको उद्घाटन गर्नुभएको थियो ।