विश्व स्वास्थ्य संगठनका महानिर्देशकको नेपाल भ्रमण फलदायी भएको स्वास्थ्यमन्त्री खतिवडाको भनाई


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसको नेपालमा भ्रमण फलदायी रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताएका हुन् ।

डब्ल्युएचओका महानिर्देशक डा।गेब्रेयसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको उनले बताए । अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा जाहेर गरेको मन्त्री खतिवडाले बताए ।

मन्त्री खतिवडाले पर्याप्त श्रोत साधन र दक्ष जनशक्ति सुनिश्चित गर्दै आगामी दिनमा जिनसिक्वेन्सिङ प्रदेश स्तरसम्म पुर्‍याउने योजना रहेको बताए । मन्त्री खतिवडाका अनुसार नेपालले बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एसियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न तथा नेपाली विज्ञहरूलाई अवसर तथा क्षमता विकासका लागि विश्व स्वास्थ्य संगठनबाट मद्दतको लागि प्रस्ताव गरिएको छ ।

त्यसैगरी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालमा स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको तथा खर्च गरेको बजेट दक्षिण पूर्वी एसिया क्षेत्रका देशहरू मध्येकै धेरै रहेको बताएको उनले बताए ।​ डब्ल्युएचओका महानिर्देशक डा. गेब्रेयसले तीन दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले नेपालका कला क्षेत्रका व्यक्तित्वहरुलाई समेत भेट गरेका थिए ।