काठमाडौं, बैशाख १२। ललितपुरको मलपोखरीस्थित एक फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको छ। ललितपुर महानगरपालिका – ३ मलपोखरी अफनडोलस्थित निशु फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। शाहका अनुसार सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो बिहान सवा पाँच बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
आगलागी भएको खबर पाउनासाथ तत्काल प्रहरी घटनास्थल पुगेको थियो। नेपाली सेना ३३ जना , नेपाल प्रहरी ३२ जना, शसस्त्र प्रहरी २५ जना, स्थानीय करिब १०० जना , सात वटा दमकल र ८ वटा पानी ट्याङकरको सहयोगमा आगो नियन्त्रणमा लिएको शाहले जानकारी दिए। प्रहरी उपरीक्षक शाहका अनुसार शिला मास्केको जग्गामा सुनिल भुसालले जस्ताको टहरो हालेर सञ्चालन गरेको फर्निचर उद्योगमा एक्कासी आगो लागेको हो। आगलागीबाट नजिकै रहेको दिपेन्द्र मिश्रले सञ्चालन गरेको सत्यदेवी इन्टरनेशनल प्रा.लिमा पनि आगो सल्सदा पसलमा रहेका विभिन्न मोटर पार्टसका सामानमा जलेको शाहले बताए। आगलागीबाट करिब ७ करोडको क्षति भएको प्रारम्भीक अनुमान गरिएको जानकारी दिए। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।