सिक्री काण्डका कारण दीपकबाट खोसियो टिकट, कृष्ण थापालाई दिइयो


काठमाडौं, बैशाख १२। नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरका दाबेदार दीपक पौडेललाई दिइएको टिकट फिर्ता गरेको छ । पार्टीले कृष्ण थापालाई मेयरको नयाँ उम्मेदवारका रुपमा अघि सारेको छ । आज (सोमबार) बिहान बसेको एमाले सचिवलाय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले यसअघि टिकट दिइएका पौडेलबाट उक्त टिकट फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि शनिबार एमालेले पौडेललाई नै टिकट दिएको थियो । तर सिक्री काण्डमा मुछिएको भन्दै पौडेलको आलोचना भएपछि पार्टीले निर्णय फेरेको छ । पौडेलको पुरानो भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना र विरोध भइरहेको छ । यसबाट पार्टीको छवि बिग्रने देखेर एमाले नेतृत्व तहबाटै निर्णय फेरिएको हो । पौडेल गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलका हुन् । पृथ्वीसुब्बा स्वयं एमाले अध्यक्ष अाेली पक्षधर मानिन्छन् । थापा भने एमाले केन्द्रीय सदस्य खगराज अधिकारीकाे प्यानलका हुन् । यी दुवै समूहबीचको टक्करले समेत निर्णयमा बदलाव आएको बताइन्छ । शनिबार नै एमालेले पोखरा महानगरपालिकाको उपमयेरमा भने मन्जु गुरुङलाई नै दोहोर्याउने निर्णय गरेको थियाे ।