काठमाडौंको मेयरमा ५६ र उपमेयरमा ३१ जनाको उम्मेदवारी दर्ता


काठमाडौं, बैशाख १३। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा प्रमुख (मेयर) पदका लागि ५६ र उपप्रमुख (उपमेयर) पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । ५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवार दिएका मध्ये ८ जना महिला रहेका छन् । उपमेयर पदमा उम्मेदवारी दिने ३१ जनामध्ये १२ जना दलकातर्फबाट र ९ जना स्वतन्त्रतर्फबाट उम्मेदवार बनेका छन् । उपमेयरतर्फ १२ जना महिला रहेका छन् । मनोनयन दर्ताको पहिलो दिन मेयर पदका लागि १६ र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौं महानगरका ३२ वटा वडामध्ये हरेक २ वडाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो । मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए । हरेक डेक्समा इन्टरनेट सुविधासहितका ल्यापटप राखिएका थिए । कार्य क्षेत्र विभाजन गरेर डेक्स राखिएकाले भीड कम भएको निर्वाचन अधिकृत खतिवडाले बताए । निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्लाका पालिकाहरुमा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा अध्यक्ष पदका लागि १२५ जनाले, उपाध्यक्ष पदका लागि ५७ जनाले, वडाध्यक्ष पदका लागि ३३४ जनाले, महिला सदस्य पदका लागि १९१ जनाले, दलित महिला सदस्य पदका लागि १२९ जनाले र सदस्य पदका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।