स्थानीय तहमा उम्मेदवारी दिनेको संख्या ढेड लाख नजिक


स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजारभन्दा बढि रहेको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा अहिलेसम्म १ लाख ४७ हजार २ सय ७४ जनाको उम्मेदवारी परेको हो । सबै स्थानीय तहको अन्तिम उम्मेदवारी आइनसकेकाले अझै बढ्ने निश्चित छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदमा ३ हजार ४ सय ३० जना, अध्यक्षमा ३ हजार ३ सय ६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३ सय ८२ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाध्यक्षमा ३४ हजार ३ सय ५७ जनाको उम्मेदवारी पर्दा बाँकी पदमा महिला सदस्य, दलित सदस्य र खुला सदस्यको उम्मेदवारी परेको छ ।

आयोगले उम्मेदवारको संख्या अझै बढ्ने र विवरण संकलनको कार्य जारी रहेको जनाएको छ । आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम राखेको छ । निर्वाचनबाट देशभर ७ पदमा कुल ३५ हजार २ सय २१ जना निर्वाचित हुनेछन् ।