स्थानीय तह निर्वाचन : अझै आएन उम्मेदवारी दर्ताको पूर्ण विवरण


काठमाडौं, बैशाख १४। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि भएको उम्मेदवारी मनोनयनको पूर्ण विवरण अझै प्रकाशन गर्न सकेको छैन। आयोगको पछिल्लो विवरणअनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा डेढ लाखभन्दा बढीको उम्मेदवारी परेको छ। कुल ३५ हजार २२१ पदका लागि एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको हो। यो संख्या मंगलबार बेलुकी ९ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। विवरणअनुसार नगर\उपमहानगर\महानगर प्रमुखमा ३ हजार ४६६ र उपप्रमुखमा २ हजार १३६ जनाको उम्मेदवारी परेको छ।

गाउँपालिका अध्यक्षमा ३ हजार ३७८ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ। यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडासदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ। अधिकांश विवरण आए पनि केही स्थानमा तथ्यांक संकलन गर्ने क्रम अझै चलिरहेको आयोगले जनाएको छ।