कांग्रेसका बागी उम्मेदवारलाई पार्टीको निर्णय मान्न महामन्त्री गगन थापाको आग्रह


सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् । महामन्त्री थापाले निर्वाचनमा होमिएका बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमी कमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरीत उम्मेदवारी दिन नमिल्ने बताए ।

त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उनले भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता लिन उनले आग्रह गरेका हुन् । महामन्त्री थापाले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहे पनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन ठूलो भिन्न मत पनि छ । यसका बारेमा संघर्ष पनि भयो ।

त्यो संघर्ष छ र भोलिको दिनमा पनि रहन्छ । तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो । हामी पार्टीलाई जिताउन चाहन्छौं, पार्टीको निर्णयलाई कार्यान्वयन गराउन चाहन्छौं । तर यसपछि फेरि छलफल हुन्छ । फेरि बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा, एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ,नेता थापाले भने ।

गठबन्धनबारे कैयौं ठाउँबाट निवेदन आएको भन्दै उनले पार्टीको विधान र नियतबारे छलफल हुने भन्दै कार्यकर्तालाई आश्वासन दिएका थिए । साथै उजुरीहरु संकलन गरिरहेको र दोषीमाथि कारबाही गर्ने पनि उनले बताए । उनले भने, तर आज म पार्टीका साथीहरुलाई यहीँबाट आह्वान गर्न चाहन्छु– जब पार्टी एउटा निर्णय गरेर निर्वाचनमा होमिन्छ । त्योभन्दा अगाडिसम्म आफ्ना मतभेदहरु हुन्छन् । चुनाव पछाडि फेरि ती विषयमा मतभेदहरु हुन्छन् । तर चुनावमा होमिइसकेपछि त पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ । सम्मान गर्नुपर्छ । म देशभरीका पार्टीका साथीहरु, जसले अहिले पार्टीको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र ढंगले उम्मेदवारी दिनु भएको छ । म तमाम ती साथीहरुलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकी छ ।

तपाईँहरुमाथि भएको एउटा एउटा अन्यायको हिसाब किताब हुन्छ । तपाईँहरुमाथि जसलाई विभेद भएको छ । त्यसको एउटा एउटा हिसाब किताब हुन्छ । तपाईँहरुको यसको क्षतिपूर्ति पनि गर्ने गरी न्यायको निर्णय पनि हामी गराउने त्यो ठाउँसम्म पनि हामी पुर्‍याउँछौं । महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताए । अन्यथा पार्टीमा फेरि फर्केर काम गर्न पाउने अवस्था नरहने उनले स्मरण गराएका थिए ।