गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सकाे ‘वाइडबडी’ले आज परीक्षण उडान गर्ने


काठमाडौं, बैशाख १५। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि उड्ने भएको हो । जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरु, पत्रकार लगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिनुभयो । जहाज २ घण्टापछि फेरि काठमाण्डौ फर्कनेछ ।

२ घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि उहाँले जानकारी दिनुभयो । काठमाण्डौबाट पुगेका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियम अनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने महाप्रवन्धक दाहालको भनाई छ । गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाई भएको थियो । विमानस्थलबाट आउँदो जेठ २ गते बुद्ध जयन्तिदेखि नियमित व्यावसायिक उडान हुनेछन् । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका पक्का गरेको छ ।