ओली नेतृत्वमा भएको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामीः कांग्रेस नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले नेतृत्वको चुनावी गठबन्धनलाई पुरातनवादी र प्रतिगामी गठबन्धनको संज्ञा दिएका छन्।

तनहुँको भानु नगरपालिकामा शनिबार कांग्रेसका उम्मेदवारहरुको परिचयका लागि आयोजित परिचयात्मक कार्यक्रममा उनले कांग्रेस नेतृत्वको गठबन्धनलाई परिवर्तन पक्षधर शक्तिबीचको पवित्र गठबन्धनका रुपमा चित्रित गरे।

पौडेलले लोकतन्त्र र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन सत्तारुढ दलहरुबीच गठबन्धन भएको जिकिर गरे।

उनले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन तथा कांग्रेसको नीति र रणनीतिबारे भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरे।

‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुरा बोल्न हुँदैन। विकास र रजनीतिलाई सँगै लिएर जान कांग्रेस चाहन्छ,’ पौडेलले भने, ‘गाँउको विकास र लोकतन्त्र जोगाउँछौं। लोकतन्त्र, संविधान जोगाउन गठबन्धन गरेको हो।’

उनले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि ‘गाउँमा आम्दानी, गाउँमै रोजगारी’ को अभियान सुरु गर्न लागेको पनि बताए।

वरिष्ठ नेता पौडेलले कांग्रेसले कम्युनिस्टले जस्तो जनतालाई कहिल्यै नझुक्याएकोसमेत बताए।