आगलागीबाट ध्वस्त मुक्तकमैया बस्ती सरकारले बनाउने


काठमाडौं, बैशाख १८। यहि वैशाख ११ गते आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने भएकाे हाे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सो बस्तीको स्थलगत अनुगमन गर्दै यस्ताे बताउनुभएकाे थियाे । प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्तकमैया बस्ती निर्माण गरिने उहाँले बताउनुभयाे। त्यस्तै, प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले साे स्थानका मुक्तकमैयाले अझैसम्म पनि जग्गाको लालपूर्जा नपाएकाले लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने बताउनुभएकाे छ ।

प्रदेश सरकारले तत्काल पूर्ण रुपमा क्षति व्यहोरिरहेका सो बस्तीका मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने, त्यस्तै बर्खे खेतीको लागि धानको बिउ निशुल्क दिने प्रदेश सरकारले जनाएकाे छ । ७१ घरधुरी रहेको सो बस्तीमा वैशाख ११ गते दिउँसो खेतमा गहुँको नलमा लगाइएको आगो सल्किएपछि आगलागी भएको थियो । आगलागीबाट बस्तीका २७ घर पूर्णरुपमा जलेका थिए । सथै १२ घर आंशिक रुपमा र ३२ घरमा सामान्य क्षति भएको छ ।