नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिह्न, एआईजी पोखरेल र थापा अदालत जाने तयारीमा


काठमाडौं, बैशाख १९। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिह्न लगाउँदै हुनुहुन्छ । गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न लगाउने कार्यक्रम राखेको छ । सरकारले हिजो सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका छन् ।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने उनीहरुको तयारी छ । अदालतमा आज रिट परेर आज नै पेशी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्न सक्ने भएकाले बिहानै कार्यक्रम तय भएको बुझिएको छ । यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा सर्वोच्चले रोक लगाएको थियो । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि आज दर्ज्यानी चिह्न लगाउँदै हुनुहुन्छ ।

हिजै महानिरीक्षक नियुक्त भएका अर्याल सशस्त्रको आईजीपीमा एक्ला दाबेदार हुनुहुन्थ्यो । बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ । रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ।