आचारसंहिताविपरीत गतिविधि गरे उम्मेदवारी रद्द हुने


काठमाडौं, बैशाख २०। निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्नेसम्मको चेतावनी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिए।‘आयोगद्वारा कार्यान्वयनमा ल्याएको आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा राख्न पाइँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी दल वा उम्मेदवारको निर्वाचन चिन्ह राखे वा टाँसे कारबाही गरिनेछ।’

उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झन्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र प्रदर्शन गर्न नहुने प्रावधान छ। आचारसंहिताप्रतिकूल सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिइसकिएको पनि आयोगले जनाएको छ। ‘आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ,’ आयोगले भनेको छ।