त्रिभुवन विमानस्थलमा बम राखेको फोन आएपछि, यात्रुलाई गेट बाहिर निकालियो


काठमाडौं, बैशाख २१। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

त्रिभुवन विमानस्थलका एक अधिकारीले  भने, ‘अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका छौं । हाम्रो सिस्टममै कहिंबाट त्यस्तो खालको कल आयो भने पूरै सर्च गर्नुपर्छ ।’ त्यसैले अहिले सबै यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेको उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।