देशभर चुनावी रौनक : अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले सुरक्षा चुनौती


काठमाडौं, बैशाख २२। वैशाख ३० गते हुने पालिका चुनावका लागि दल तथा उम्मेदवारको दौडधुप बढेको छ । मतदाता रिझाउन र मत आफ्नो पक्षमा पार्न शीर्ष नेता पनि देश दौडाहमा जुटेका छन् । सत्ता गठबन्धनका दलसहित प्रमुख प्रतिपक्ष एमालेले देशका मुख्य ठाउँमा चुनावी सभा गर्दै आएका छन् । कांग्रेसले हिजोदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ । आज चितवनमा हुने सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हिजो नै पुग्नुभएको छ ।

कांग्रेसले भ्रातृ सङ्घ संस्थाका अधिवेशन पालिका चुनावपछि गर्न आग्रह गरेको छ । एमालेले यसअघि नै अभियान थालेको थियो । अध्यक्ष केपी शर्मा ओलीले ठाउँठाउँमा चुनाव केन्द्रित सभालाई सम्बोधन गर्नुभएको छ । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा लगायतका दललाई पनि भ्याइनभ्याइ छ । स्वतन्त्र उम्मेदवार पनि प्रचारप्रसारमा जुटेका छन् । ६ वटा राष्ट्रियसहित निर्वाचन आयोगमा दर्ता भएका ७९ दलमध्ये ६६ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

चुनावको मुख्य दिन आउन अब आठ दिन मात्रै बाँकी छ । महानगरसहित गाउँबस्ती चुनावमय बनेका छन् । आफ्ना घोषणापत्र र प्रतिबद्धतापत्रसहित उम्मेदवारले मतदातालाई आश्वस्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । मतदातासँगको भेटघाट, छलफल, सामाजिक सञ्जालको प्रयोगसँगै र्याली, जुलुस तथा सभा भइरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न हुने अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले चुनावी सुरक्षा चुनौती समेत बढाएको छ । झडपका घटना बढ्न थालेका छन् । गृहमन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलका अनुसार पालिका चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन मिलाइएको छ । चुनावलाई धाँधलीरहित, स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन गृहसहित सम्पूर्ण निकाय लागेका उहाँको भनाइ छ ।

चुनावमा शान्ति सुरक्षा बिथोल्ने जस्ता गतिविधि हुन नदिन दल, उम्मेदवार, कार्यकर्ता र नागरिकलाई संयमित रहन पनि उहाँको आग्रह छ । यस्तै, उहाँले झडपको अवस्था आउन नदिन र कतै घटना हुनसक्ने देखिएमा वा भइहाले प्रमुख जिल्ला अधिकारी वा प्रहरीमा खबर गर्न पनि आग्रह गर्नुभएको छ । यसपालि ७ सय ५३ पालिकामा एकैपटक चुनाव हुँदैछ । एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुँदैछन् । सरकारले दुई हजार ९४६ अति संवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाएको छ । एक लाख ७० हजार सुरक्षाकर्मी तथा एक लाख म्यादी प्रहरी खटाइएको छ ।