भोजपुरमा आगलागीमा परेर साढे दुई वर्षीया बालिकाको ज्यान गयो, आमा बुबा घाइते


काठमाडौं, बैशाख २३। भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे २ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाका आमा बुबा घाइते भएका छन् । आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राई जानकारी दिनुभयो । उहाँका अनुसार खेममणि तामाङ र उहाँकी श्रीमती मिना तामाङलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

यस्तै, आगलागीबाट चार घर जलेर नष्ट भएको छ । खेममणि तामाङको पसलबाट सुरु भएको आगोले उहाँको घरसहित पसल, डम्बर तामाङको २ वटा घर तथा त्यस घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको घर तथा होटल र त्यही घरमा रहेको सूर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।