गठबन्धनको चुनावी सभामा चित्रबहादुर केसीले के भने ?


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले प्रतिगमनलाई परास्त गर्न वामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको बताए ।

पाँच दलका बीच थुप्रै बेमेल रहे पनि प्रतिगमनविरुद्ध आफूहरु एक ठाउँमा उभिएको उनले प्रस्ट पारे । ‘हामी गणतन्त्रका लागि एक ठाउँमा छौं,’ उनले भने । गठबन्धनको यस्तो अभ्यास यसअघि पनि पटकपटक भइसकेको भन्दै उनले पञ्चायत विरोधी आन्दोलन, २०६२र६३ को जनआन्दोलन समेत गठबन्धनकै बलमा परिणाममुखी भएको बताए ।

‘पाँच दलीय गठबन्धनले परिणाम देखाउँदै गएपछि अहिले प्रतिगमनकारीहरु अनेक आरोप लगाएर हिँडिरहेका छन्,’ उनले भने, ‘आफ्नै पार्टीभित्र त समस्या छ भने फरक विचार बोकेर हिँडेका पाँच दलभित्र प्रशस्त बेमेल छ तर पनि गणतन्त्र जोगाउने सवालमा हामी एक ठाउँमा छौं ।’

उनले ‘एमसीसीको विरोध गर्ने चित्रबहादुर अहिले एमसीसी पारित गर्ने दलहरुसँगै मिलेको’ भनेर आफूप्रति आरोप लगाउनेलाई ‘प्रतिगामीका मतियार’ संज्ञा दिए । उनले भने, ‘चित्रबहादुर गिरिजाबाबु, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसँग पनि गठबन्धन गरेर हिँडेको थियो, आज शेरबहादुर, रामचन्द्रसँग पनि गरेर हिँडेको छ ।’