नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उम्मेदवारहरूमाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारप्रति आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही मानिसहरुले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरेको बताएका हुन् ।
‘कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ’, प्रचण्डले भने, ‘महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोशिस छ ।’ उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । उनले पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठुलो लछारपाटो लगाउन नसकेको बताए ।
संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने,‘सुरुको अनुभवले के देखायो भने, आम मतदाता र गठबन्धनभित्रका पार्टीका कार्यकर्ता धेरै प्रशिक्षित गर्न सकिएन्। शिक्षित, दीक्षित गर्न सकिएन्।’
उनले बरु वामपन्थीहरुको एकता हुँदा सहज हुन्छ कि भनेर शेरबहादुर देउवासँग सल्लाह गरेर एमालेसँग एकता गरेको बताए।