जेठ ३ गते संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस


सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

सरकारका अनुसार जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि जेठ ४ गते प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सरकारको रहेको छ । विगतको संसद बैठकमा प्रमुख प्रतिपक्षि दल एमालेले लगातार अवरुद्ध गदै आएको छ ।