देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने


काठमाडौं, बैशाख २६। प्रधानमन्त्री एवं का‌ंग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्न धनगढी पुगेका छन्। देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड आज बिहान पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले याे घर ०७४ काे चुनावमा किनेका थिए। धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए। याे सभालाई देउवा, प्रचण्डसहितले सम्बोधन गर्ने छन्। देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन्।

प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बाेधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ। गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेकाे थियाे। धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गाेपाल हमालसहित चुनावी मैदानमा छन्। धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाकाे चुनावी क्षेत्र पनि हाे । ०७४ काे प्रतिनिधिसभा चुनावमा आरजु एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन्।