धर्मेन्द्र बास्तोला प्रहरी निगरानीमा, चुनाव नसकिँदासम्म प्रहरी घेरामै रहने


काठमाडौं, बैशाख २९।  नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले निगरानीमा राखेको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रबार हुने निर्वाचन शान्तिपूर्ण गराउने सवालमा बास्तोलासँग सोधपुछ भइरहेको जानकारी दिए। ‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छैनौं र प्रहरीले छोडेको पनि छैन,’ काफ्लेले भने ‘ उहाँहरूको निर्वाचन बहिष्कार अभियान रहेछ, बुटवलमा हिजो मात्रै बम बिस्फोट भएको छ। त्यसैले हामीले सोधपुछ गरेका हौं र निरन्तर निगरानीमा राख्नेछौं।’

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरीले बिहीबार बिहान ४ बजे सोधपुछका लागि भन्दै दाङको भालुवाङमै रोकेको थियो। प्रहरीका अनुसार अहिले पनि उनी प्रहरी निगरानीमै छन्।  प्रहरी स्रोतका अनुसार बास्तोला सुर्खेततर्फ जाँदै थिए। ‘उहाँहरूले निर्वाचन बहिष्कारको नीति लिनु भएको र हिजो मात्रै बुटवलमा बम बिस्फोट भएको छ,’ एसपी काफ्लेले भने, ‘उहाँ दाङ प्रवेश गरेपछि प्रहरी सजग र सचेत हुनु स्वभाविक हो। निर्वाचन स्वतन्त्र र शान्तिपूर्ण बनाउनु हाम्रो कर्तव्य हो।’ एसपी काफ्लेका अनुसार बास्तोला प्रहरी घेरामै छन्। तर, पक्राउ नगरिएको र निर्वाचन सम्पन्न नहुँदासम्म उनलाई प्रहरी निगरानीमै राखिने भएको छ।