श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै, सुरक्षा व्यवस्थामा कडाई


काठमाडौं, बैशाख २९। श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । प्रदर्शनकारीका गतिविधि बढ्दै गएसँगै सरकारले कर्फ्यू आदेश जारी गरेपनि सो क्रम रोकिएको छैन् । राष्ट्रपति गोताबाया राजपाक्षेले गत महिना विरोध प्रदर्शन हुन थालेसँगै शान्ति व्यवस्था कायम गर्ने प्रतिवद्धता जनाएका थिए। चर्को मल्यवृद्धिसँगै आर्थिक संकट आएसँगै आम सर्वसाधारणले सरकार विरोधी आन्दोलनलाई तीव्र पारेका छन् ।

तर सत्ता पक्षले भने विपक्षीहरुले सेनाले सत्ता कब्जा गर्ने बहाना खोजेर सर्वसाधारणको आन्दोलन दवाउन खोजेको आरोप लगाएका छन् । सरकारले कर्फ्यू र निषेधाज्ञा जारी गरेपनि अत्यावश्यक सामाग्रीको सहज उपलब्धता नभएको भन्दै सर्वसाधारणको आन्दोलन थप चर्किएको छ । आन्दोलनकारीले सरकारी अधिकारी र उच्च राजनीतिज्ञहरुका भौतिक सम्पति र उनीहरुमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सरकारले सम्पूर्ण सुरक्षा बल तैनाथ गरेको छ । तर पनि सरकारी विरोधी आन्दोलनहरु निरन्तर भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सोमबारदेखि जारी हिंसात्मक आन्दोलनमा २ सय भन्दा बढी घाइते भएका छन् । आन्दोलनकारीले राष्ट्रपति राजपाक्षेको राजीनामाको माग गर्दै प्रदर्शन बढ्न थालेसँंगै हिंसात्मक गतिविधिहरु बढेका हुुन् ।