काठमाडौं महानगरपालिकाका प्रमुख पदका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?


काठमाडौं, बैशाख २९। काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन्। सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखका लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने जनाइएको छ।

विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन साहले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्दैछन् । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कामपाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने भएका छन्।

काठमाडौं महानगरपालिकामा तीन लाख २४२ मतदाता रहेका छन्। वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् । वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छन्

वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् । यसैगरी वडा १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नं. हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् । सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा मतदानस्थल छन् । धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो । यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ ।