आज स्थानीय तह निर्वाचन


काठमाडौं, बैशाख ३०। आज देशैभरका ७५३ स्थानीय तहको निर्वाचन हुँदैछ । देश संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा भएको थियो । निर्वाचन आयोगले शुक्रबार(आज) बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको छ । सरकारले गत माघ २४ गते देशका ७५३ वटै स्थानीय तहमा एकै चरणमा २०७९ बैशाख ३० गते निर्वाचन गर्ने घोषणा गरेको थियो । सोही बमोजिम आज स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

२०७४ को स्थानीय तह निर्वाचन बैशाख ३१,असार १४ र असोज २ गते गरेर तीन चरणमा भएको थियो । तर यसपटक भने एकै चरणमा निर्वाचन हुन लागेको हो । केही स्थानीय तहमा उम्मेदवारको मृत्यु भएपछि भने आयोगले ती स्थानीय तहको निर्वाचन कार्यक्रम संशोधन गरेको छ । आजको दिन ऐतिहासिक दिन हो । यही स्थानीय तहको निर्वाचनबाट जनताले ५ वर्षका लागि स्थानीय सरकारको छनोट गर्नेछन् ।त्यस्तै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी सरकारले गरेको निर्णय पनि ऐतिहासिक भएको राजनीतिक विश्लेषकहरुको भनाई छ । प्रजातन्त्रको जगको रुपमा रहेको स्थानीय तह निर्वाचन मार्फत जनताले आफ्ना प्रतिनिधि चुन्ने यो अत्यन्तै महत्वपूर्ण अवसरले प्रजातन्त्रको जग थप बलियो बन्ने छ । बिभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं आएर बसेकाहरु मतदाता नामावली आफ्नो सम्वन्धित स्थानीय तहमा भएका कारण भोट हाल्न उत्साहित भएर गाउँ फर्किएका छन् ।

निर्वाचन आयोगका अनुसार २९ बैशाख २०७९ सम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ रहेको छ । जसमा महिला ८७ लाख ४१ हजार ५ सय ३० जना,पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १ सय ८३ जना रहेका छन् । यसपटक ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवारले बिभिन्न पदमा प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेका आयोगले जनाएको छ । जसबाट ३५ हजार २२१ जना स्थानीय जनप्रतिनिधि निर्वाचित हुनेछन् । सरकारले स्थानीय तह निर्वाचनका लागि शान्ति सुरक्षा मजबुत बनाइएकाले भयरहित वातावरणमा मतदानमा भाग लिन सबैलाई आग्रह गरेको छ भने निर्वाचन आयोगले पनि मतदानका लागि आवश्यक सबै तयारी पूरा भैसकेको जनाएको छ । ७५३ स्थानीय तहमा महानगर पालिकाको संख्या ६,उपमहानगर पालिकाको संख्या ११,नगरपालिकाको संख्या २७६ र गाउँ पालिकाको संख्या ४६० रहेको छ ।