६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै


काठमाडौं, बैशाख ३१। आजबाट ६ वटै महानगरपालिकाको मतगणना सुरु हुँदै छ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ । मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाह प्रतिस्पर्धामा रहेका छन् चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ । भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । पोखरा महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट कृष्णबहादुर थापा प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका कोपिला रानाभाट र एमालेबाट मञ्जेदेवी गुरुङ प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ ।

ललितपुर महानगरमा मेयर पदका लागि पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी, एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य प्रतिस्पर्धी हुन् । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ । वीरगन्जमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह र नेकपा एमालेबाट विजयकुमार सरावगी मेयरका मुख्य प्रतिस्पर्धी हुन् । त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट इम्तियाज आलम र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषेतमलाल झा मुख्य प्रतिस्पर्धी हुन् ।