मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी


मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन नेकपा एसका देवबहादुर गुरुङले १ सय ८५ मत पाए ।

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन् ।

लो घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेबाट अध्यक्ष निर्वाचित लोप्साङ छोम्पेल विष्ट ०७४ सालमा स्वतन्त्रबाट पालिका अध्यक्षमा विजयी भइ एमाले प्रवेश गरेका थिए । त्यसैगरी छिरिङ ल्हामो गुरूङ ०७४ सालमा एमालेबाट जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख निर्वाचित भएकी थिइन् । नेपालकै कान्छी समन्वय समिति प्रमुख गुरूङ यसपालि पालिका उपाध्यक्ष निर्वाचित भएकी छिन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए ।

वडा ३ र ५ को वडाध्यक्षमा निर्वाचन भएको थियो । यी वडाको मतपरिणाम प्राप्त भएको छैन ।