भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा कमाण्डरमा एआईजी थापा


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीलाई खटाउने निर्णय गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार एआईजी सहकुलबहादुर थापा शनिबार लुम्बिनी पुगेका छन् ।

मन्त्रालयको निर्णय अनुसार एआईजी थापालाई भारतीय प्रधानमन्त्रीको सुरक्षाका लुम्बिनीमा पठाइएको प्रहरी प्रवक्ता एसएसपी विष्णु कुमार केसीले बताएका हुन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा लुम्बिनी आउँदै छन् । २५६६ औँ बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । उनी हेलिकप्टरबाट लुम्बिनी आउँदै छन् । लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएको छ ।

मोदीको सुरक्षाको सम्पूर्ण कमाण्ड नेपाली सेनाले गर्ने भएको छ । भीभीआईपी भ्रमणको प्रोटोकल अनुसार सेनाको टिम लुम्बिनीमा परिचालन गरिएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले बताए । उनले भने–‘सरकारले तयार गरेको सुरक्षा योजना अनुसार सैनिक टिम परिचालन गरिएको छ ।’

मोदीको भ्रमण कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदै छन् । भारतीय प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल समालेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ । यसअघि मोदी सन् २०१९ मा नेपाल आएका थिए । प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्केको करिब १ महिनापछि मोदी नेपाल आउन लागेका हुन् ।