पेट्रोल र डिजेलमा प्रतिलिटर १०\१० रूपैयाँ मूल्य बढ्यो


सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुनेछ। निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो।

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ। निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत राखिएको छ ।