दैलेखको नौमुलेमा माओवादी–समाजवादी विजयी


दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ। एकीकृत समाजवादीसँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन्।

त्यहाँका निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेले यसको पुष्टि गरेका छन्। सुवेदीले ३ हजार २ सय मतसहित गाउँपालिका अध्यक्ष पद पक्का गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत ल्याए।

यहाँ एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत ल्याएका छन्। यो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगाबहादुर शाही २८ सय ३४ मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ भोट ल्याइन्। उपाध्यक्षमा एमालेकी गीता चन्दको पक्षमा १९ सय १८ मत मात्रै पर्यो। दैलेखमा माओवादी शान्ति प्रक्रियामा आएपछिका सबै चुनावमा एमाले विजयी हुने गरेको थियो।

दैलेखमा माओवादीले कुनै चुनाव जित्न सकेको थिएन। यसअघि वडाअध्यक्षसमेत नजितेको माओवादीले समाजवादीसँगको तालमेलपछि पहिलो पटक परिणाम आफ्नो पक्षमा पारेको छ।