नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।
‘चुनाबमा गएपछि हार–जित भैहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो,’ पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं ।’
वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए ।
वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् । वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् ।