काठमाडौंको तारकेश्वरमा कांग्रेस विजयी


तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका कृष्णहरि महर्जन र सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट मेयर र उपमेयर जितेका रामेश्वर बोहरा र भवानी डोटेल धिताल यसपटक भने पराजित भएका छन् । ०४९ सालपछि निरन्तर जसो एमालेको पकड रहेको यो क्षेत्रमा पहिलो पटक कांग्रेसले जितेको हो ।

यसपटक कांग्रेसले मेयर, उपमेयरसहित बहुमत सिटमा जितेको छ । मेयरमा निर्वाचित महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्दा नेकपा एमालेका रामेश्वर बोहराले ७ हजार ८०८ मत पाए । नेकपा एकीकृत समाजवादीका लवकुमार बस्नेतले २ हजार ५२८ र राप्रपाका बसन्तकुमार बस्नेतले एक हजार एक मत पाएका छन् ।

उपमेयरमा बुर्लाकोटीले १० हजार ७८६ मत प्राप्त गर्दा नेकपा एमालेकी भवानी डोटेल धितालले ८ हजार ६ मत पाइन् । नेकपा माओवादी केन्द्रका धनलाल महर्जनले ३ हजार ३६ र राप्रपाका सीमाराज बाहकले १ हजार ८९ मत पाए । ३९ वर्षे महर्जन कांग्रेसको नगरसभापति समेत हुन् ।