पर्वतको फलेवासमा कांग्रेसबाट मेयरमा तिवारी र माओवादीकी उपमेयर क्षेत्री विजयी


पर्वतको फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारी विजयी भएका छन् । तिवारीले ७ हजार ७ सय मत प्राप्त गरी निर्वाचित हुँदा एमालेका उम्मेदवार पदमपाणी शर्माले ६ हजार ३ सय ८० मत ल्याएका हुन । शर्मा फलेवासका निर्वतमान नगरप्रमुख समेत हुन् । २०७४ को स्थानीय निर्वाचनमा उनै शर्मासँग ३ सय ४८ मतले पराजित भएका तिवारी यो निर्वाचनमा भने आफ्ना अघिल्लो प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्न सफल भएका हुन् ।

फलेवासकै उपप्रमुखमा गठबन्धनको तर्फबाटै उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्री निर्वाचित भएकी छन् । क्षेत्रीले ६ हजार ३ सय २७ मत ल्याउँदा निर्वतमान उपप्रमुख समेत रहेकी मञ्जु अधिकारीले ६ हजार ५७ मत ल्याएकी हुन । अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रबाटै उपप्रमुखमा उम्मेदवारी दिएकी क्षेत्रीले त्यतिबेला ६ सय ९६ मत मात्रै ल्याएकी थिइन् । योसँगै फलेवासका ११ वडा मध्ये ६ वडामा नेपाली कांग्रेस र पाँच वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ कार्कीनेटा, ३ शंकरपोखरी, ४ मुडीकुवा, ६ देवीस्थान, ९ भंगरा र वडा नम्बर १० कुर्घामा नेपाली कांग्रेसका अध्यक्ष निर्वाचित भएका हुन । वडा नम्बर २ थापाठाना, ५ खानीगाउँ, ७ लिमिठाना, ८ ठानामौला र वडा नम्बर ११ पाङराङमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको पाङराङ गुमाउँदा अघिल्लोपटक गुमाएको कार्कीनेटा, मुडिकुवा, भंगरा र कुर्घा फिर्ता ल्याएको हो । पाङराङ कांग्रेसको गढ मानिन्थ्यो भने कार्कीनेटा, कुर्घा र मुडिकुवा एमालेको । निर्वतमान नगरप्रमुख प्रमुख शर्माले आफ्ना वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको हो ।

यस्तै उपमेयरको वडा नम्बर ५ मा एमालेका मेयरलाई भन्दा नेपाली कांग्रेसका मेयरलाई बढि मत आएको हो । पराजित उपमेयर अधिकारी सभासद तथा पूर्व मन्त्री तथा गण्डकी प्रदेशका सांसद विकास लम्सालकी श्रीमती हुन ।
एमाले भित्रै माधवकुमार नेपाल पक्षमा शर्मा र केपी ओली पक्षकी अधिकारीबीच हरेक पटक विवाद हुदाँ नगरपालिकाले समेत सहि रुपमा काम गर्न नसकेको कर्मचारीहरुले बताउँदै आएका थिए । पछि एमाले विभााजन हुदाँ अन्तिममा पुनः शर्मा एमालेमै बसेका थिए ।