पार्टी पराजित भएपछि एमालेका इञ्चार्ज र सह–इञ्चार्जको राजीनामा


बहुमत वडासहित २०७४ का एमालेले वर्चश्व जमाएको सुर्खेतको लेकबेशी नगरपालिकामा यो पटक एमालेले नराम्रोसँग पराजय भोग्नु परेको छ । यो पटक नेपाली काँग्रेसले आठ वटा वडासहित पालिका प्रमुख आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

काँग्रेसका उमेशकुमार पौडेल ६ हजार ६३९ मत ल्याएर एमालेका देवबहादुर रानालाई २६५ मतान्तरले पराजित गरेका हुन् । एमालेबाट मेयर उठेका रानाले ६ हजार ३७४ मत पाए । यस्तै माओवादीबाट उम्मेदवार बनेका रामबहादुर चपाइँले ८०४ मत पाएका छन्न ।

उपप्रमुखमा भने एमालेकी विमला खड्लुक निर्वाचित भएकी छन् । उनले ६ हजार १०९ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देउकली थापा मगरले ५ हजार ४४० मत प्राप्त गरिन् ।

०७४ मा यो नगरपालिकामा प्रमुखरउपप्रमुख दुवै एमालेले हात पारेको थियो । एमालेका गगनसिंह सुनारले ५ हजार ७५३ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । यस्तै दोस्रोमा नेपाली काँग्रेसका उमेश कुमार पौडेलले ४ हजार ३९९, माओवादी केन्द्रका खड्ग घर्तीले २ हजार १५८ मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी शान्ति कुमारी छन्तेलले ५ हजार ७४० मत ल्याएकी थिइन् । नेपाली काँग्रेसकी लिलमती विकले ४ हजार ४३८ र माओवादी केन्द्रकी आरती विकले १ हजार ९५७ मत ल्याएकी थिइन् ।

वडाहरूमा यो पटक काँग्रेस एक्लैले ८ वडामा अध्यक्ष जितेको छ । वडा नम्बर १, २, ३, ४, ६, ८, ९ र १० मा काँग्रेसले जितेको छ भने ५ र ७ मा नेकपा एमालेले वडा अध्यक्ष जितेको छ । ०७४ मा १० वटा वडा तह रहेको यहाँ वडा नं।–१,३,६,७, ८,९ मा एमाले र वडा नं।– २,४,१० काँग्रेसले जितेको थियो । माओवादीले वडा नं.५ मा मात्र जितेको छ ।

पार्टी पराजित भएको भन्दै राजीनामा

लेकबेशी नगरपालिकाका उपप्रमुख समेत रहेकी शान्ति छन्तेलले एमालेको पालिकाको सह–इञ्चार्ज र टीकाराम सोमैले इञ्चार्जबाट राजीनामा दिएका छन् । एक विज्ञप्ति जारी गर्दै उनीहरूले राजीनामा दिएको जानकारी गराएका छन् । पत्रमा भनिएको छ,‘ ०७४ मा प्रमुख, उपप्रमुख सहित ६ वटा वडामा बहुमतसहित सफलता हात पारेका थियौँ । यो पटक उपप्रमुख र दुई वटा वडामा मात्रै उपस्थिति भयो र बाँकी सबैमा पराजय हुनु परेकाले हामी पार्टी संगठनका जिम्मेवारीमा रहेकाहरूले आजकै मितिबाट जिम्मेवारीमा नरहने गरी राजीनामा पेस गरेका छौँ ।’