आर्थिक क्रान्ति गर्ने बजेट ल्याउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव


संघीय प्रतिनिधिसभामा नयाँ आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल सुरु भएको छ।
बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाली जनताले आर्थिक क्रान्ति चाहेको, विकास र समृद्धि चाहेको उल्लेख गरे।

विकास र समृद्धि चाहे पनि जनताले त्यो नपाएको बताए।

उनले भने, ‘देशको राष्ट्रिय विकासको नीति के हुने, ५०औँ वर्षदेखि अल्पविकसित अवस्थामा रहेको, ४० वर्षअघि ३०० डलर प्रतिव्यक्ति आय भएका देशहरु १२ हजार डलरमा पुगिसके पनि हामी १३ सय डलरको अवस्थामा बल्ल पुगेको छ। गरिबीको अवस्था विकराल छ।’

उनले केही समयअघि नेपाल पनि श्रीलंका बन्नलागेका कुरा आएको भन्दै उनले उसको विदेशी मुद्रा सञ्चितिमा संकट आएको, ऋणमा फसेको विषयलाई लिएर तुलना गर्न खोजिएको बताए। नेपाल ५० वर्षदेखि पिँधको पिँधमै रहेको, माथि उक्लिन नसकेकोले सोच्ने बेला आएको बताए।

अर्थमन्त्री जनार्दन शर्मासँग सोचेजस्तो कुरा सिद्धान्त र प्राथमिकतामा नपारेकामा भट्टराईले असन्तुष्टि जनाए।

‘उहाँ मेरो साथी पनि हुनुहुन्छ, जनयुद्धका कमान्डर हुनुहुन्थ्यो तर माफ गर्नुहोला मैले उहाँसँग सोचेजस्तो पाउन सकिनँ’, भट्टराईले भने।

अहिले सामान्य अवस्थामा नरहेको, गरिबी र अविकास, पूर्वऔद्योगिक अवस्थामा बाँधिएर समाजवादको कुरा गरेको बताए। समाजवादमा जान पहिला पुँजीवादको विकास हुनुपर्ने बताए। अहिले पुँजीवादको विकासमै समस्या देखिएको उनको भनाइ छ।

आफूहरुले अहिले नै समाजवाद नभनेको उल्लेख गर्दै उनले विगत १० वर्षयता पालैपालो सबै सरकारमा भएकोले संरचनात्मक समस्या समाधानमा सफल हुन नसकेको बताए।

देशमा रोजगारी र विकासका लागि पुँजी जुटाउने उपाय खोज्नुपर्ने उनको भनाइ थियो। निर्वाहमुखी कृषिको अवस्थामा रहेको बताउँदै उनले आर्थिक वृद्धिदर ४० वर्षमा ३÷४ प्रतिशतमा रहेकोमा चिन्ता व्यक्त गरे।

सुगौली सन्धियता हामी परनिर्भर बन्दै गएको पनि उनले बताए। देश आयातमुखी अर्थतन्त्रमा जकडिएकाले औद्योगिक क्रान्तिको आवश्यकता औँल्याए। त्यसको लागि ठूलो बहस र विमर्श आवश्यक भएको उनले बताए। कृषि, उद्योग र सेवा क्षेत्र महत्वपूर्ण भए पनि कृषिमा आश्रित जनसंख्यालाई १०÷१५ प्रतिशत मुनि राख्नुपर्ने बताए। अन्यथा देश विकास नहुने दाबी गरे।

उनले राष्ट्रिय पुँजी विकास गर्ने सैद्धान्तिक आधार बनाउन अर्थमन्त्री शर्मालाई सुझाव दिए। समाजवादको कुरा गर्नेभन्दा श्रम, उत्पादकत्व बढाउनेतिर लाग्नुपर्ने उनको भनाइ छ। राष्ट्रिय औद्योगिक पुँजीको विकास अहिलको मुख्य आवश्यकता भएको उनले बताए।

प्रतिव्यक्ति आय बढाउन उत्पादन बढाउनुपर्ने बताउँदै उनले दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने गरी औद्योगिक क्रान्तिको खाँचो औँल्याए। अहिलेसम्मका अर्थ मन्त्री मध्ये भट्टराई सबै भन्दा सफल अर्थमन्त्रीको रुपमा पहिचाान बानाउन सफल भएका छन् ।