दाङको घोराही उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमाले विजयी


काठमाडौं जेठ ०५ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरी विजयी हुनुभएको छ। दोस्रो कार्यकालका लागि घोराही उपमहानगर मेयरमा नरुलाल चौधरीले ३१ हजार ७ सय २८ मत प्राप्त गरेर विजयी हुनुभएकाे हो । उहाँका निकटम प्रतिद्धन्द्धी पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका हेमराज शर्मा डाइमण्डलाई ५ हजार ३ सय ६० मतले पछि पार्दै नगर प्रमुखमा चौधरीले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत न्यायाधिस रितेन्द्र थापाले जानकारी दिनुभयो ।

यसैगरी, उपमेयरमा नेकपा एमालेकै हुमाकुमारी डिसी विजयी हुनुभएको छ । पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डागीलाई ४९ मतले पछि पार्दै नगर उपमेयरमा विजयी हुनुभएको हो । विजयी डिसीले ३० हजार ४ सय ३ र पराजित भुपबहादुरले ३० हजार ३ सय ५४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत थापाले बताउनुभएकाे हाे । यस अघिको २०७४ सालको निर्वाचनमा भुपबहादुर डागीले नगरपालिकाकाे मेयरमा नरुलाल चौधरीसँग पराजित हुनुभएको थियो । यसैबीच राप्रपाका तर्फबाट साेही नगरकाे मेयरका उम्मेदवार सरिता देवकोटाले ५ हजार ३ सय २४ र उपमेयर पदका उम्मेदवार विभुजंग बुढाथोकीले ३ हजार ५ सय ११ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, नेकपा एकीकृत समाजबादीका मेयर पदका उम्मेदवार रामप्रसाद चौधरीले १ हजार १ सय ४३ र उप मेयरका उम्मेदवार शोभा शाहले १ हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ ।

मंगोल नेशनल अर्गनाईजेशनका तर्फबाट मेयरका उम्मेदवार कल्पना थारुले ५ सय ८७ र उपमेयरका उम्मेदवारले ५ सय ९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकामा १३ वटा वडा एमाले, ५ वटा वडा कांग्रेस र १ वटा वडामा माओवादीले विजयी हासिल गरेकाे छ । गत वैशाख ३० गते भएको निर्वाचनमा घोराही उपमहानगरपालिकामा ७६ हजार ५ सय २१ मत खसेको थियो । वैशाख ३१ गतेदेखि सुरुभएको मतगणना जेठ ५ गते बिहान २ बजे सकिएको हो । यसैबीच विजयी मेयर र उपमेयरलाईसँगै प्रतिस्पर्धामा रहेका हेमराज शर्मा र भुपबहादुर डाँगीले बधाई एवं शुभकामना समेत दिनुभएको छ । निर्वाचन प्रकृयामा गइसकेपछि हारजित स्वभाविक भएको भन्दै आगामी दिनमा नगरको विकासमा हातेमालो गरेरै जाने समेत उहाँहरुले प्रतिबद्धता समेत गर्नुभएकाे छ ।