जेलमा रहेका रेशम चौधरीको पार्टीले टिकापुरमा मेयर जित्यो


काठमाडौं जेठ ०५ । कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मेयर जितेको छ। जेलबाटै पार्टी खोलेका चौधरीको दल स्थानीय तह निर्वाचनमा सहभागी भएकामा टीकापुरमा जितको खाता खोलेको हो।
उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने । उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो । सुदूरपश्चिम अखण्ड र थारुवान/थारुहट आन्दोलनबाट सिर्जित टिकापुर घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।