चितवनमा भीषण हावाहुरीले ३ जनाकाे मृत्यु


काठमाडौं जेठ ०७ । चितवनमा बेलुकी पख आएको हावाहुरीका कारण अटोरिक्सामा चढेका तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । फरक-फरक ठाउँमा भएको दुर्घटनामा परेर तीन जनाको ज्यान गएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा चढेका दुई जनाको भोजाडमा ज्यान गएको हो भने भरतपुरबाटै भोजाड जाँदै गरेको अर्को अटोमा चढेका एक जनाको बर्सेनीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा चढेका एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उहाँले बताउनुभयो । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीका कारण चितवनको विभिन्न स्थानमा रुखहरू ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक बन्द भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।