सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेकाे आराेपमा मनाेज पाण्डे पक्राउ


काठमाडौं जेठ ०८। आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आयोजक मनोज पाण्डेलाई पक्राउ गरेको छ । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले ईमेजखबरलाई जानकारी दिएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो । पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि घटनाबारे छानविन गर्न दबाव बढेको थियो ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो । सांसदले छानविनको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नुभएको थियो । प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिसकेको छ । अहिले २४ वर्षकी ती युवती बलात्कार र यौन शोषण हुँदा १६ वर्षकी मात्र थिइन् । बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।

तर, जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । त्यसबारे थाहा पाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका थिए । राजधानीबाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भए ।