वायुको प्रभाव : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसहित वर्षा


काठमाडौं जेठ ०८। नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित मध्यम वर्षा भइरहेको जनाएको छ। बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको पनि सम्भावना रहेको उल्लेख छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले सोमबार प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग हावा हुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। मंगलबा प्रदेश नं १, मधेश प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।