वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट मेयरमा राजेशमान र उपमेयरमा आलम विजयी


काठमाडौं जेठ १०। मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । महानगरका ३२ वटै वडाको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान विजयी भएका हुन् ।

नेकपा एमालेका मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हुन् । बैशाख ३० को मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् । यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा भने वीरगन्ज महानगरको मेयरमा तत्कलीन संघीय समाजवादी फोरम र हालको जसपाबाट उम्मेदवार बनेका विजय सरावगी निर्वाचित हुँदा‍ तत्कालीन राजपाबाट उम्मेदवार बनेका राजेशमान १२ हजार १ सय ६५ मत का साथ तेस्रो स्थानमा सिमित भएका थिए । महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित भएका हुन् ।