पूर्व सञ्चारमन्त्रीका प्रेस विज्ञ यौन दुव्यवहारको आरोपमा पक्राउ


सेन्ट लरेन्सका सञ्चालक र प्रिन्सिपलसहित तीनजना प्रहरीको नियन्त्रणमा लिएको छ । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका छात्रामाथि यौन दुर्व्यवहार आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यौन दुर्व्यवहार भएको भन्दै छात्राहरूले शिक्षकविरुद्ध किटानी जाहेरी दिएसँगै तीनजनालाई महानगरीय प्रहरी बृत्त गौशालाले नियन्त्रणमा लिएको हो।

प्रहरीले सो कलेजको म्यानेजमेन्ट संकायका मर्निङ कोअर्डिनेटर जनार्दन अधिकारी, कलेजका प्रमुख केशव दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई नियन्त्रणमा लिएसँगै पीडित भनिएका छात्राहरुका अभिभावक पनि अहिले प्रहरी बृत्त गौशालामा पुगेका छन्।

तीनजनालाई नियन्त्रणमा लिएसँगै विद्यार्थीहरु पनि नारा लगाउँदै गौशाला वृत्तमा पुगेका छन्। यौन दुर्व्यवहारमा संलग्न शिक्षकमाथि जाहेरी परेसँगै प्रहरीले नियन्त्रणमा लिएकासहित अन्यमाथि समेत अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा पूर्व सञ्चारमन्त्रीका प्रेस विज्ञ

पक्राउ परेका मध्ये काभ्रे घर भएका जनार्दन अधिकारी समेत छन् ।

 

अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका रुपमा नियुक्त समेत पाएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो । सेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सुदीप गिरीले बताएको रातोपाटीले लेखेको छ । उनले भने–‘यो संवेदनशील विषय हो, हामी अनुसन्धान गर्दै छौँ ।’ ​कोअर्डिनेटर अधिकारीले आफूले ‘भने अनुसार गरे सहयोग गरिदिने’ भनेर गलत मनसायले भनेको विद्यार्थीहरूको आरोप छ ।

कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।